२०८२ असार १७ गते, मंगलवार ०४:०५

सदन देशका समस्याहरूको छलफल गर्ने सर्वोच्च निकाय हो भन्ने कुरा भुल्नु हुँदैन।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सभामुखको आग्रह: सभामुख देवराज घिमिरेले सांसदहरूलाई संसदलाई प्राणहीन नबनाइ छलफलको वातावरण बनाउन आग्रह गरे।
  • प्रतिपक्षको नाराबाजी: माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले बैठकमा नाराबाजी गरेपछि सभामुखले दलीय आधारमा समय दिने बताए।
  • बैठक स्थगित: सांसदहरूले सभामुखको आग्रह नमानेपछि बुधबारको बैठक स्थगित भई बिहीबार ३ बजे पुनः बस्ने तय भयो।

काठमाडौं –

सभामुख देवराज घिमिरेले सांसदहरूलाई संसदलाई प्राणहीन बनाउने कार्य नगर्न र छलफलको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजीमा उत्रिएका सांसदहरूलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो आग्रह गरेका हुन्।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले भने, “सदन दुई हप्तादेखि अवरुद्ध छ। सदन देशका समस्याहरूको छलफल गर्ने सर्वोच्च निकाय हो भन्ने कुरा भुल्नु हुँदैन। छलफलको वातावरण बनाउन माननीय सदस्यज्यूहरू आसन ग्रहण गर्नुस्। म दलीय आधारमा समय दिन्छु। संसद्लाई प्राणहीन बनाउने काम नगरौं।”

उनले राख्नुपर्ने विषयहरूलाई दलीय आधारमा प्रस्तुत गर्नुपर्ने बताउँदै थपे, “वातावरण बनाएर कार्यसूचीअनुसार छलफल गर्नुपर्छ। सत्तापक्ष, प्रतिपक्ष र सम्पूर्ण सांसदहरूले आफ्ना कुरा राख्नुपर्छ। त्यसका लागि सबैले आ-आफ्नो ठाउँमा बसेर सहयोग गर्नुस्।”

तर, सांसदहरूले नाराबाजीको स्वर झन् बढाएपछि सभामुखको आग्रहलाई बेवास्ता गरे। फलस्वरूप, बुधबारको बैठक स्थगित भएको छ। अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने तय भएको छ। प्रतिपक्षी दलहरूले जेठ १४ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस