निर्देशनालयका अनुसार मङ्गलबार गौरीफन्टा र झुलाघाट नाकामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
धनगढी–
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ। कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दैनिक सङ्क्रमण देखिएको छ।

निर्देशनालयका अनुसार मङ्गलबार गौरीफन्टा र झुलाघाट नाकामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिँदा १४ जनाको मात्रै परीक्षण गरिएको थियो। त्रिनगर नाकामा सङ्क्रमण पुष्टि भएकाहरू अधिकांश दिल्लीबाट फर्किएका व्यक्ति छन्, जसले सुदूरपश्चिममा कोभिड जोखिम बढाएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
हेल्थ डेस्कहरूमा पर्याप्त परीक्षण कीटको अभावले सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको छ। कञ्चनपुरको गड्डाचौकी नाकामा मङ्गलबार १०० कीट प्राप्त भएपछि परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले बताए। “हामीसँग १०० कीट मात्रै छ, यो पर्याप्त होइन। अहिले लक्षण देखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ,” जोशीले भने। मङ्गलबार गड्डाचौकीमा सात जनाको परीक्षण गरिएको थियो।
प्रदेशमा हाल ३७० कीट मात्रै उपलब्ध छन्। गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले कीट अभावले शङ्कास्पद व्यक्तिलाई मात्रै परीक्षण गर्न सकिएको र उनीहरूलाई एक हप्ता परिवारबाट अलग बस्न सुझाइएको बताए। स्वास्थ्यकर्मीहरूले हेल्थ डेस्कमा कोभिडसँगै मलेरिया, डेङ्गीलगायतका परीक्षण र परामर्श पनि दिइरहेका छन्।
स्थानीय पदम थापाले गड्डाचौकी नाकामा कडाइ नहुँदा सङ्क्रमण फैलने जोखिम रहेको बताए। “जीप, कार र बसहरू बिना जाँच नेपाल प्रवेश गर्छन्। प्रशासनले हेल्थ डेस्कमा अनिवार्य जाँच गराउनुपर्छ,” उनले भने। विगतमा नाकामा कडाइ नहुँदा सङ्क्रमण फैलिएको भन्दै स्थानीयले सरकारसँग कडा कदम चाल्न माग गरेका छन्।
सुदूरपश्चिममा गड्डाचौकी, त्रिनगर, झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना भए पनि कीट र स्रोतसाधनको अभावले प्रभावकारी सङ्क्रमण नियन्त्रणमा कठिनाइ भइरहेको छ।