२०८२ असार २७ गते, शुक्रबार २२:०३

इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आक्रमण र क्षति: इजरायली सेनाले गाजाका १००+ क्षेत्रमा आक्रमण गर्‍यो। अल–शाती शिविरमा १० (२ बालबालिका सहित) र ताल अल–हवामा १ जनाको मृत्यु, ५ घाइते। खान युनिसको अल–मवासीमा १० जनाको मृत्यु, धेरै घाइते। मध्य गाजामा ४ मृत्यु, १ घाइते।
  • विस्थापितमाथि निशाना: इजरायली विमान र ड्रोनले विस्थापितका घर र पालमा आक्रमण गरे। रफाहमा सहायता केन्द्रमा खाना पर्खनेहरूमाथि गोली प्रहार।
  • कुल तथ्यांक: मार्च १८ देखि ७,११८ प्यालेस्टिनी मारिए, २५,३६८ घाइते। अक्टोबर २०२३ देखि कुल मृत्यु ५७,६८० र १,३७,४०९ घाइते।

काठमाडौं-

बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन् ।

जसमा विस्थापित व्यक्तिहरू बस्ने आवासीय घरहरू र पालहरू लक्षित गरिएका छन् । बसालले इजरायली विमानले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको जौदा परिवारको घरलाई लक्षित गर्दा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताउनु भयो ।

करिव ३० जना घाइते भएका छन् र शहरमा पनि ताल अल–हवा छिमेकमा प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । उनले दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको शाबान परिवारका विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने पालमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताउनु भयो ।

बसलकाअनुसार मध्य गाजामा छुट्टाछुट्टै इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको बताउनु भयो । खान युनिसको नासेर मेडिकल कम्प्लेक्सले आठ जनाको शव र धेरै घाइते भएको जनाएको छ । दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी समर्थित सहायता वितरण केन्द्रको अगाडि खानाको लागि पर्खिरहेका बेला इजरायली सेनाको गोली प्रहारबाट उनीहरूमाथि आक्रमण भएको बताएको छ ।

इजरायलले मार्च १८ मा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि ७ हजार १ सय १८ प्यालेस्टिनीहरू मारिएका छन् । २५ हजार ३ सय ६८ घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५७ हजार ६ सय ८० पुगेको छ । कुल १ लाख ३७ हजार ४ सय ९ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस