काठमाडौँ –

नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न उनलाई मन्त्री नियुक्त गरेका हुन्।
यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका एमालेका प्रतिनिधि सभा सांसद राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ।”
न्यौपाने यसअघि एमालेको तर्फबाट राष्ट्रिय सभामा सक्रिय थिइन्। नयाँ भूमिकामा उनले सङ्घीय संरचनाको कार्यान्वयन र प्रशासनिक सुधारका मुद्दाहरू सम्हाल्नेछिन्।