२०८२ श्रावण ३ गते, शनिबार १७:५५

काठमाडौं-

सांसदहरुले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले प्रहरीलाई पर्याप्त मात्रामा रासन र बस्ने उचित व्यवस्था गर्न नसकेको अवस्थामा रासन र बसोवासको व्यवस्थापन प्रथमिकता हो कि हतियार ? भनी प्रश्न गर्नुभयो ।

सांसदको प्रश्नमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दीपक थापाले हतियार खरिदको विषय सरकाको पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले हतियार प्रहरीका लागि नभइ नहुने अवस्था आएकाले नै खरिद गर्न लागिएको स्पष्ट पार्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हतियार खरिद नियमविपरित नहुने स्पष्ट पार्नुभयो । उहाँले हातहतियार खरिद गर्दा अनियमिता हुन्छ कि भनेर शंका नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको उल्लेख गर्नुभयो । केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्यास डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रशंग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । हतियार खरिद गर्दा कानूनसम्मत र पारदर्शिता कायम रहने गृहमन्त्रैको भनाई थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रश्तुत गर्नुभएको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ । करिव ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउन लागेको हो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस