काठमाडौं –

उपत्यकामा बढिरहेको गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले सशक्त कदम चालेको छ। प्रहरीको संयुक्त अपरेसनमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीवार राति महाराजगञ्जस्थित साम्बला होटलमा छापा मार्दा कुख्यात गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका छन्।
उक्त होटलको आठौँ तलामा चक्रे मिलनको जन्मदिन मनाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चक्रे मिलन र उनको समूह ठमेलस्थित एलओडी क्लवतर्फ जाने तयारीमा रहेको प्रहरीलाई अघिबाटै सूचना पुगेपछि सम्भावित मुठभेड रोक्न तत्काल अपरेसन सञ्चालन गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरूलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो। ‘हामीले उनीहरूको क्रिमिनल ट्रयाक रेकर्ड केलाउने काम आज बिहानदेखि थालेका छौँ, सोही अनुसार कानुनी कारबाही अघि बढाइनेछ,’ आचार्यले बताए।
यसअघि, मंगलबार मात्र नुवाकोट ककनीका पटके गुण्डा सानुभाइ भनिने युवराज गुरुङलाई पनि ठमेलबाट पक्राउ गरिएको थियो। नगरकोट दोहोरी साँझमा अत्यधिक मदिरा सेवनपछि भएको विवादका क्रममा प्रहरीले नुवाकोट सूर्यगढी–२ का रवीन्द्र गुरुङ (३०) र पाँचथर फिदिम–१० का दिलकुमार तुम्बाफो (२६) लाई समेत नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार हाल पक्राउ परेकाहरूलाई विस्तृत अनुसन्धानपछि आपराधिक संलग्नता प्रमाणित भएमा आवश्यक कानुनी कारबाही गरिनेछ।