वीरगन्ज-
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नी भनी नागरिकता दिलाएको आरोपमा दायर रिटको पेशी सोमबारका लागि सारिएको छ।
आज ७ नम्बरमा परेको पेशी सुनुवाइ हुन नसकेपछि आगामी सोमबारका लागि सारिएको हो। पर्सा प्रहरीले दोस्रो पटक पठाएको जवाफको सुनुवाइ गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले यसअघि स्पष्ट विवरण खुलाई यथाशीघ्र जवाफ पठाउन आदेश दिएको थियो।
यो प्रकरणमा अनुसन्धानमा ढिलाइ भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी उपरीक्षक गौतम मिश्रविरुद्ध गत वैशाख ३० गते रिट दर्ता भएको थियो। उच्च अदालतले असार २ गतेसम्म एक वर्ष अवधिमा भएको अनुसन्धानको विवरण माग गरेको थियो। तर प्रहरीको असार १२ गते पठाएको जवाफ टालटुले भएको र अनुसन्धानको ठोस विवरण नआएको रिट निवेदकको आरोप छ।
रिट निवेदकका अनुसार पर्सा प्रहरीले मेयर सिंहलाई जोगाउन ढिलाइ र अपूर्ण जवाफ दिएको छ। प्रहरीको जवाफ कार्यकर्ताले तयार पारेको जस्तो रहेको आरोप समेत गरिएको छ।
रिटमा वीरगन्ज–३ का भूपेन्द्रमान सिंह श्रेष्ठका छोरा मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठलाई आफ्नी छोरी भनी सरकारी कागजातमा किर्ते गरी जन्मदर्ता र नागरिकता दिलाएको आरोप छ। यस सम्बन्धी मुद्दा २०८० फागुन २४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको थियो।
उच्च अदालतले यसबारे विस्तृत जवाफ माग्दै ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ?’ भनी पर्सा प्रहरीलाई म्यादभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।