वीरगन्ज –

गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार गुठी संस्थानको स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा (चार कठ्ठा) जग्गा पत्रकार महासंघलाई लिजमा प्रदान गरिनेछ।
उक्त जग्गामा महासंघले व्यावसायिक प्रयोजनका लागि आधुनिक संरचना निर्माण गर्ने लक्ष्य लिएको छ। यसअघि गुठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार सार्वजनिक सूचना जारी गरी प्रस्ताव आह्वान गरिएको थियो। प्राप्त प्रस्तावहरूमध्ये पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दृष्टिले उत्कृष्ट ठहरिएको संस्थानले जनाएको छ।
सम्झौताअनुसार निर्माण लागत महासंघले आफैं बेहोर्नेछ। साथै, नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान र कार्यतालिका गुठी संस्थानमा पेश गर्नुपर्ने र निर्माण कार्य नेपालका प्रचलित मापदण्ड र कानुनअनुसार गर्नुपर्ने उल्लेख गरिएको छ।
गुठी संस्थानका प्रतिनिधिहरूले यस सहकार्यबाट निष्क्रिय सम्पत्तिको उत्पादक प्रयोग हुँदै स्थानीय रोजगारी र सेवा प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। यता, नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने योजनाअनुरूप आधुनिक भवन निर्माण गरी सार्वजनिक सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
सम्झौता अनुसार जग्गाको स्वामित्व गुठी संस्थानकै हुने र महासंघले पुनः बहालमा दिने अधिकार मात्र पाउने तर हक हस्तान्तरण गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। सम्झौतासम्बन्धी सम्पूर्ण कर, दस्तुर, स्वीकृति र कानुनी प्रक्रिया महासंघले नै बेहोर्नेछ।
सम्झौता कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा, गुठी संस्थानका कर्मचारीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस सम्झौताले मधेश प्रदेशभरिका पत्रकारहरूमा उत्साह र सन्तुष्टि जगाएको छ। दीर्घकालीन पूर्वाधार निर्माण र पत्रकारिता सशक्तीकरणतर्फ महत्वपूर्ण कदम भएको टिप्पणी गरिएको छ।