पर्सा –

पर्साको ठोरी गाउँपालिका–२, सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
घटना साउन २१ गते बिहानको हो। प्रहरीका अनुसार, बालिका बाख्रा चराउन गएका बेला साहले उनलाई १० रुपैयाँको नोट देखाएर प्रलोभनमा पारी जंगलमा लगेर करणी गरेका थिए।
पीडित पक्षले सोही दिन दिएको जाहेरीका आधारमा प्रहरीले दिउँसो ३ बजे साहलाई नियन्त्रणमा लिएको थियो। बालिकाका अभिभावकले साहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेका थिए।
पक्राउ परेका साहलाई बिहीबार पर्सा जिल्ला अदालतबाट म्याद थप गरी तीन दिनका लागि हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।