वीरगन्ज –
भोजपुरी भाषाको संरक्षण र पत्रकारितामा क्रियाशील भोजपुरी टाइम्स दैनिकले आफ्नो १२औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्वअन्तर्गत भिन्न शैलीमा मनाएको छ। शुक्रबार वीरगंजस्थित जनजाति कल्याण आश्रम नेपाल अन्तर्गतको “आमाको माया छात्रावास”मा आयोजित कार्यक्रममा आश्रममा आश्रित गरीब, दलित र असहाय बालबालिकाहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गर्दै वार्षिकोत्सव मनाइएको हो।

कार्यक्रमको अध्यक्षता पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाले गरेका थिए भने प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराले भोजपुरी टाइम्सको ११ वर्षे यात्रा मातृभाषाको पत्रकारितामा प्रेरणादायी रहेको बताए। उनले वर्तमान प्रतिस्पर्धात्मक मिडिया बजारमा एकै टिमले ११ वर्षदेखि निरन्तर प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको बताए।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, महासंघका केन्द्रिय परिषद सदस्य राघव साह, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पीठाकोटे मगर, कुमुदिनी एकेडेमीका सञ्चालक श्रीरामजी गिरी लगायतले शुभकामना मन्तव्य दिएका थिए।
विशिष्ट अतिथि राघव साहले सुरुवाती दिनदेखि हालसम्म पत्रिकाको यात्रा संघर्षपूर्ण भए पनि प्रशंसनीय रहेको भन्दै बालबालिकाको हितमा गरिएको कार्यले भोजपुरी पत्रकारितालाई मानवीय संवेदनशीलताको नमूना बनाएको बताए।
कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य श्याम सर्राफले गरेका थिए भने स्वागत भाषण कार्यकारी सम्पादक श्रवण प्रसाद साहले दिएका थिए।
पत्रिकाले बालबालिकालाई चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्य वस्तुका साथै शैक्षिक सामग्री प्रदान गरेको थियो। वार्षिकोत्सवले सामाजिक सद्भाव र जिम्मेवारीको नयाँ उदाहरण स्थापित गरेको सहभागीहरूको धारणा थियो।