वीरगन्ज-
वीरगन्जमा हैजाका बिरामी भेटिएपछि खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले मोबाइल भ्यान र आवश्यक सामग्रीसहितको प्राविधिक टोली खटाएको छ।
खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपछि वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको र पानीको अवस्था परीक्षण गरी आवश्यक कदम चालिने विभागले जनाएको छ।
सरकार हैजा नियन्त्रणप्रति पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयले प्रभावित क्षेत्रमा निरन्तर अनुगमन र परीक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ।
मन्त्री यादवले भने, “तराई–मधेससहित विशेषगरी वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या रहेको अवस्थामा हैजाका बिरामी देखिनु निकै चिन्ताको विषय हो। त्यसैले खानेपानी परीक्षणका लागि तत्काल टोली खटाइएको छ।”