२०८२ भाद्र ११ गते, बुधबार २०:२३

फेला परेका हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर

नारायणी अस्पताल

वीरगन्ज–

वीरगन्जमा भेटिएका हैजा संक्रमितमध्ये ११ प्रतिशत बिरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । वीरगन्जका विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जनामध्ये २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भए पनि उनीहरूलाई सघन उपचार कक्ष (आइसीयू) मा राखी उपचार भइरहेको छ ।

वीरगन्जका विभिन्न अस्पतालको आइसीयूमा भर्ना भएकाहरूको रक्तचाप नभेटिएको, शरीरमा पानीको मात्रा कम भएर मृगौलामा क्रिएटिनिन सिरम बढ्दै गएको वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अंसारीले जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक रूपमा भएको झाडापखालाका कारण बिरामीको शरीरमा पानीको मात्रा खतरनाक रूपमा कम हुँदा मृगौलामा समस्या देखिएको छ भने बिरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट सलाइन चढाउनुपरेको छ।

वीरगन्जका विभिन्न अस्पतालको आइसीयूमा भर्ना भएकामध्ये सबैभन्दा धेरै ९ जना वीरगन्ज हेल्थ केयर अस्पतालमा र ८ जना तराई अस्पतालमा रहेका छन्।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्ममा झाडापखालाका ६२ जना नयाँ बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्।

शुक्रबार बेलुकीदेखि मंगलबार बिहानसम्म झाडापखालाका ३ सय ९१ जना बिरामीले वीरगन्जका विभिन्न अस्पतालमा उपचार गराएका मध्ये १ सय ७१ जना निको भई घर फर्किएका छन् भन्ने तथ्यांक स्वास्थ्य शाखाले सार्वजनिक गरेको छ।

बारा, पर्सा लगायतका जिल्लाबाट उपचार गराउन वीरगन्ज आएका बिरामीमध्ये ४४ प्रतिशत निको भई घर फर्किएको र भर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस