वीरगन्ज —
पर्साको कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले पालिकामा बढ्दै गएको कर्मचारी लापरबाही र विद्यालयमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्सालगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको छ।
२०८२ भदौ ८ गते युवा समाजको टोलीले गाउँपालिकाभित्रका चार वटा सामुदायिक माध्यमिक विद्यालयको स्थलगत अनुगमन गरी शिक्षक र विद्यार्थीले भोगिरहेका समस्या संकलन गरेको थियो। त्यसपश्चात् गाउँ कार्यपालिकाको कार्यालयमा छलफलका लागि पुगे पनि सूचना शाखा र दर्ता–चलानी बाहेक अन्य शाखा बन्द तथा केही खुला शाखामा कर्मचारी अनुपस्थित रहेपछि ज्ञापनपत्र बुझाउने निर्णयमा पुगेका थिए।
युवा समाजका अनुसार पालिकाअन्तर्गत श्री जनता मावि (मुड्ली), श्री सुकई साह मावि (भेडिहारी), श्री नेपाल राष्ट्रिय मावि (कट्टिबलुवा) र श्री दिव्य कन्या मावि (विरञ्चीवरवा) मा अनुगमन गर्दा बेन्च–डेस्कको अभाव, खानेपानी र सरसफाइमा समस्या, विषयगत शिक्षकको कमी, निजी स्रोतका शिक्षकलाई लामो समयदेखि तलब नपाएको, कक्षाकोठा अभावका कारण अत्यधिक विद्यार्थीलाई एकै कोठामा बस्नुपर्ने, लामो समयदेखि विद्युत् बिल नतिरेकाले प्राधिकरणले अन्तिम चेतावनी पठाएको जस्ता गम्भीर समस्या फेला परेको थियो।
युवा समाजका उपाध्यक्ष भरत साहका अनुसार सरकारले उपलब्ध गराएको मल गैरकानुनी रूपमा बिक्रीवितरण हुँदा कृषकहरू मारमा परेको तर स्थानीय निकाय मौन बसेको विषयमा पनि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको ध्यानाकर्षण गराइएको छ।
संस्थाका अध्यक्ष आकाश चौरसियाले प्रमुख प्रशासकीय अधिकृत महिनौँदेखि कार्यालय नआएको र अन्य कर्मचारी पनि समयमा कार्यालयमा उपस्थित नभएकाले सर्वसाधारणले सेवा पाउन कठिनाइ भोगिरहेको बताए। उनका अनुसार, “पालिका अध्यक्ष र उपाध्यक्ष जिम्मेवार नभएको कारण हामी बाध्य भएर जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाउन पुगेका हौँ।”
ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा समाजका अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो कोइरी, दिपेन्द्र गुप्ता, तिन्डोभिया युवा क्लबका अध्यक्ष कृष्ण पटेलसहित युवाको उपस्थिति रहेको थियो।