रुपन्देही-
जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख अनुसार तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
कफ्र्यू लागू हुने क्षेत्रहरू यस्ता छन् :
बुटवल क्षेत्र ।
पूर्वः पेट्रोल पम्प धागो कारखाना पुलसम्म ।
पश्चिमः बेलवास चोकसम्म ।
उत्तरः चिडिया खोलासम्म ।
दक्षिणः मंगलापुरसम्म ।
भैरहवा क्षेत्र
पूर्वः रोहिणी खोला पुलसम्म।
पश्चिमः बेथरी पुलसम्म।
उत्तरः बुद्धचोकसम्म।
दक्षिणः मेउडीहवासम्म।
त्यसैगरी, बुटवल–बेलहिया सडकखण्डको दायाँबायाँ एकसय मिटर क्षेत्रभित्र पनि कफ्र्यू लागू हुनेछ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गरेको आदेशमा तोकिएको क्षेत्रभित्र शान्ति सुरक्षा तथा जनसुरक्षालाई मध्यनजर गर्दै सो अवधि भित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । आदेशको उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।