वीरगन्ज –
मधेश प्रदेशसभामा मंगलबार जनमत पार्टी विपक्षी बेञ्चमा बसेको छ भने मुख्यमन्त्री सतीशकुमार सिंह भने एक्लै सत्तापक्षको बेञ्चमा बस्न पुगे ।
जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई राजीनामा गर्न निर्देशन दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । दलका नेता महेशप्रसाद यादवका अनुसार पार्टीको निर्णयअनुसार १३ मध्ये १२ जना सांसद विपक्षी बेञ्चमा बसेका हुन् । सिंह भने सत्तापक्षको बेञ्चमै अडिग रहँदै राजीनामा नदिने अडानमा उभिएका छन् ।
मुख्यमन्त्री सिंहले संघीयताको रक्षा गर्न पद नछाडेको दाबी गरे । तर उनले सामाजिक सञ्जालमार्फत भने राजीनामा दिएको स्वीकार गरेका छन् । यसलाई नेता यादवले विरोध जनाउँदै “आफ्नै पार्टीले समर्थन फिर्ता लिइसकेको अवस्थामा सिंहले कुर्सीमा टाँसिरहनु लोकतान्त्रिक आचरण विपरीत” भएको बताए ।
नेपाली कांग्रेसका नेता कृष्णकुमार यादवले समेत सिंहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झाले अल्पमतमा परेको सरकारले पद त्याग नगर्नु संघीय लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने बताए ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले “१२ जना सांसद विपक्षमा र एकजना मुख्यमन्त्री मात्र सत्तापक्षमा बस्दा प्रदेशसभाको उपहास भएको” टिप्पणी गरे ।
यसबीच, एमालेले भने सिंहलाई कमजोर अवस्थामा राखेर सरकार सञ्चालनमा चलखेल गर्न थालेको आरोप विपक्षी दलले लगाएका छन् । प्रदेश प्रमुखले समर्थन फिर्ता भएको पत्रबारे हालसम्म कुनै कारबाही अगाडि बढाएका छैनन् भने सभामुख रामचन्द्र मण्डललाई दलीय स्वार्थअनुसार भूमिका निर्वाह गरेको आरोप लागेको छ ।
यसैबीच, नेपाली कांग्रेसले बुधबार बिहान ८ बजे पार्टी कार्यालयमा बैठक बोलाएको छ । सो बैठकले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सत्ता साझेदारीबाट बाहिरिनेबारे निर्णय गर्ने बताइएको छ ।