२०८२ आश्विन २३ गते, बिहीबार १९:४१

माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति नियन्त्रणमा

काठमाडौँ –
काठमाडौँको माइतीघर मण्डलामा बिहीबार आत्मदाह प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आत्मदाह गर्नुअघि नै प्रहरीले रोकेर उनलाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको जनाएको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, लिसंखुपाखर गाउँपालिका–६ का कान्छाराम लामा हुन्। उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए।

लामा हाल काठमाडौँमा बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फसेपछि मानसिक तनावमा रहेर यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

लामाले आत्मदाह प्रयास गर्दा माइतीघर मण्डलामा ‘जेन–जी समूह’ का प्रदर्शनकारीहरू पनि उपस्थित थिए। प्रहरीका अनुसार उनले सो समूहसँगै गएर आत्मदाहको प्रयास गरेका हुन्।

माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म जेन–जी समूहका २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस