२०८२ आश्विन २३ गते, बिहीबार १९:२१

क्याम्पस प्रमुख यादवको बदमासीकै कारण शिक्षक, कर्मचारी र विद्यालयको भविष्य संकटमा

वीरगन्ज-

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादवको बदमासीकै कारण सयौं विद्यार्थीको भविष्य संकटमा परेको छ। क्याम्पसका शिक्षकहरूले बिहीबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी क्याम्पस प्रमुख यादवको बदमासीकै कारण क्याम्पसमा पठन–पाठन अवरुद्ध भएको र विद्यालयको भविष्य संकटमा परेको आरोप लगाएका हुन्।

हरि खेतानका शिक्षकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्याम्पसका प्रध्यापक दिलीप प्रजापतिले दुई वर्ष अघि नै शिक्षक र कर्मचारीले ८ बुँदे माग क्याम्पस व्यवस्थापनसमक्ष राखेपनि क्याम्पस प्रमुखको बदनियतपूर्ण रवैयाका कारण समस्या जटिल बन्दै गएको आरोप लगाउनुभयो।

उहाँले पटक–पटक क्याम्पसका शिक्षक तथा कर्मचारीले आफ्ना माग अघि सार्दै आएपनि क्याम्पस प्रमुख यादवले तिनलाई सम्बोधन नगरेकाले बाध्य भएर शिक्षकले पठन–पाठन र कर्मचारीले आफ्नो काम नगर्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो।

२०८१ सालमा क्याम्पसका शिक्षक तथा कर्मचारीले प्रशासनलाई बुझाएको माग पूरा नभएसम्म क्याम्पसको पठन–पाठन अवरुद्ध रहने प्रजापतिले जानकारी दिनुभयो।

शिक्षकहरूको तलब त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार हुनुपर्ने, शिक्षक तथा कर्मचारीको तलबमा एकरूपता हुनुपर्ने, शिक्षक तथा कर्मचारीको तहगत ग्रेडिङ र बढुवाको प्रणाली विकास गर्नुपर्ने, नयाँ शिक्षकलाई लेक्चरर र पुरानोलाई असिस्टेन्ट बनाइएका जस्ता त्रुटिहरू सच्याउनुपर्ने, एक पद एक तलबको सिद्धान्त कायम गर्नुपर्ने, प्याकेज तथा ओभरटाइमलाई तलबमा रूपान्तरण गर्नुपर्ने, प्रत्येक महिनाको ५ गतेभित्र तलब वितरण हुनुपर्ने र हरि खेतान विद्यालयको तलब माध्यमिक विद्यालय सरह हुनुपर्ने लगायतका माग क्याम्पस प्रशासनलाई दिइएको उहाँले बताउनुभयो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रजापतिले क्याम्पस प्रमुख यादवको बदनियतपूर्ण रवैया र बदमासीकै कारण शिक्षक, कर्मचारी तथा विद्यालय सबैले समस्या खेपिरहेकोले समस्या समाधान गर्न क्याम्पस प्रमुख यादवले राजीनामा दिनुपर्ने माग समेत गरिएको जानकारी दिनुभयो।

असोज २४ गतेदेखि क्याम्पस सञ्चालन गरिने सूचना क्याम्पस प्रमुख यादवले प्रकाशित गरेपनि शिक्षक र कर्मचारीको माग पूरा नभएसम्म काममा नफर्किने शिक्षकहरूको भनाइ रहेको छ।

पोडकास्ट सुन्नुहोस