२०८२ आश्विन २४ गते, शुक्रबार १९:०५

अपडेट:वीरगन्जमा टाटा विङ्गर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवान गम्भीर घाइते

वीरगन्ज
शनिबार बिहान करिब ११ः०० बजे वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक चौक नजिक टाटा विङ्गर भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन्।

हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २३४५ नम्बरको टाटा विङ्गर गाडीले बाटो काट्ने क्रममा ना.३९ प ८४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक, बारा जिल्लाको महागढीमाई नगरपालिका–२, ईनर्वा निवासी प्रहरी जवान दिनेश प्रसाद यादव  गम्भीर घाइते भएका छन्। बरियारपुर बेस क्याम्प, बारामा कार्यरत यादवको चिउडो काटिएको र हातमा समेत गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते यादवलाई उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनास्थलमा प्रहरी चौकी गण्डकका प्रमुख प्रहरी नायब निरीक्षक जगदीश प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।

विङ्गर चालक, मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कुमाने टोल निवासी ४२ वर्षीय प्रकाश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालय, श्रीपुर पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस