काठमाडौं –
प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा (एमाले) का पूर्वसांसद देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार राति काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवप्रसाद श्रेष्ठका अनुसार अहिले पनि अपरेशन जारी छ ।
“भट्टचनलाई नियन्त्रणमा लिइएको छ, कार्यालयबाट खटिएको टोलीले कागजातहरू समेत जफत गरिरहेको छ,” श्रेष्ठले भने, “यसबारेमा विस्तृत विवरण भोलि मात्र सार्वजनिक हुनेछ।”
प्रभु म्यानेजमेन्ट प्रालिमाथि रेमिट्यान्स भुक्तानीका नाममा विभिन्न सहकारी संस्थाहरूको रकम हिनामिना गरेको आरोप लागेको छ । यो कम्पनीले कम्तीमा १६ वटा सहकारीको करिब १ अर्ब रुपैयाँ फिर्ता नदिएको सीआईबीको अनुसन्धानमा खुलेको हो ।
भट्टचन प्रभु म्यानेजमेन्टका तत्कालीन अध्यक्ष हुन् । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गरेका थिए । हाल कम्पनीको जिम्मेवारी कुसुम लामाले सम्हालिरहेकी छन् ।
प्रभु म्यानेजमेन्टले देशभर करिब ४ सय सहकारीलाई रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाएर धरौटी रकम लिएको थियो । तर सम्झौताअनुसार सहकारीहरूले पठाएको रकम कम्पनीले फिर्ता नगरेपछि धेरैले उजुरी दिएका थिए ।
गोरखाका पीडित सहकारीहरूले संयुक्त रूपमा करिब ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । साथै, रकम फिर्ताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागमा ज्ञापनपत्र पनि बुझाइएको थियो ।
गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी, गोरखा बचत तथा ऋण सहकारी, दैनिक उत्थान, भीमसेन–८ सिर्जनशील बचत, भीमकुल बचत, सिद्धिगणेश बचत, सनराइज बचत, सुलिकोट बहुउद्देश्यीय बचत, ससारी बचत, गोरखकाली बचत, महिला जागरण बारपाक सुलिकोट बचत, गोरखा उद्यमशील बचत, चम्पावती बचत, थालाजुङ विकास बचत, सप्तकोशी बचत र शीतला बचतलगायत संस्थाहरूको करोडौं रुपैयाँ फिर्ता नदिएको पीडितहरूले बताएका छन् ।
त्यस्तै भक्तपुरका १८ वटा सहकारीको समेत ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले अड्काइराखेको पाइएको छ । दुई वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकिएको गुनासो सहकारीहरूले गरेका थिए ।
सीआईबीले हाल प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्ष भट्टचनसहित अन्य संलग्नहरूविरुद्ध थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।














