काठमाडौं –
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव आज (बुधबार) रातिदेखि नेपालमा पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशहरूमा आज रातिदेखि शनिबार बिहानसम्म असर पर्ने जनाएको छ ।
महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनअनुसार चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ र बिस्तारै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दैछ । यस क्रममा यो न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक पुगेर पूर्वतर्फ सर्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कात्तिक १२ गते बुधबार रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका अधिकांश भागमा यसको प्रभाव देखिन सुरु हुनेछ ।
चक्रवात ‘मोन्था’को प्रभाव कात्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ । यस अवधिमा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी, कर्णाली प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई ठाउँमा समेत मध्यम हिमपात हुने सम्भावना छ । कोसी र बागमती प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा भारी हिमपात हुनसक्ने र कोसी, मधेस तथा बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।
महाशाखाले चक्रवातको प्रभावका कारण दैनिक जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।














