जनकपुरधाम –
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन् । उनले एक–दुई दिनभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने योजना बनाएका छन् । यसका लागि आज (बुधबार) जनकपुरमा गठबन्धनमा सहभागी दलहरूको बैठक बोलाइएको छ ।
मुख्यमन्त्री सोनलले गोप्यखबरसँग कुरा गर्दै भने, “म तुरुन्तै विश्वासको मत लिने तयारीमा छु। त्यसका लागि आज दिउँसो गठबन्धन दलहरूको बैठक बस्दैछ। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् पनि विस्तार हुनेछ।”
उनका अनुसार विश्वासको मतका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहयोग र समर्थनको आग्रह गरिएको छ ।
“कांग्रेस र एमालेलाई पनि विश्वासको मतका लागि आग्रह गरेको छु,” उनले भने, “सहकार्य र समन्वयकै आधारमा मधेसलाई अघि बढाऔँ भन्ने मेरो प्रस्ताव छ।”
लोसपा नेता सोनल असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहणकै दिन दुई मन्त्री नियुक्त गरे पनि मन्त्रिपरिषद् विस्तार भने अझै भएको छैन । सोनलले तिहार र छठ पर्वका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।
हाल सोनल सरकारमा जनमत पार्टीका महेश यादव र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेल मन्त्री रहेका छन्, तर उनीहरूको मन्त्रालय टुंगो लागेको छैन ।
स्रोतका अनुसार गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ । लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले अन्य मन्त्रालय नपाउने तयारी अन्य दलहरूको रहेको छ ।
तर, जनमत पार्टीभित्र आन्तरिक विवाद उत्पन्न भएसँगै मुख्यमन्त्री सोनलको विश्वासको मतमा असर पर्न सक्ने अनुमान गरिएको छ । जनमतका दुई सांसद फरक धारमा देखिएका छन् ।
यद्यपि मुख्यमन्त्री सोनलले भने जनमतको विवादले सरकारलाई प्रभाव नपार्ने दाबी गरेका छन् ।
“जनमतका नेताहरू विवाद समाधानको प्रक्रियामा हुनुहुन्छ। त्यसले सरकारलाई अप्ठ्यारो पार्दैन,” उनले भने ।
मधेसमा अहिले कांग्रेस र एमाले विपक्षमा छन् भने लोसपा, जसपा, जनमत, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) समावेश भएको पाँचदलीय गठबन्धनले सत्ता सम्हालेको छ ।














