सर्लाही-
सर्लाहीको कबिलासी नगरपालिका – ६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।















