२०८२ कार्तिक २२ गते, शनिबार ००:४२

भारतमा स्टारलिङ्क इन्टरनेट सेवा औपचारिक रूपमा सुरु, महाराष्ट्र पहिलो राज्य बन्ने

काठमाडौं –

विश्वका चर्चित उद्यमी इलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा औपचारिक रूपमा सञ्चालन हुन लागेको छ। राजधानी वित्तीय केन्द्र मुम्बई रहेको महाराष्ट्र राज्य यो सेवा सुरु गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्री देवेन्द्र फड्नाविसले बुधबार घोषणा गरेका छन्।

स्टारलिङ्कले तल्लो कक्षीय भू–उपग्रह (Low Earth Orbit Satellite) मार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखेको छ। यो पहलले भारतमा मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिहरू सम्बन्धी बहसलाई पुनः ताजा बनाएको छ।

भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान गरिएको छ। सोही पृष्ठभूमिमा भारत सरकारले जुन महिनामा स्टारलिङ्कलाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो।

मुख्यमन्त्री फड्नाविसले मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल “एक्स” (X) मा लेख्दै भने,“महाराष्ट्र स्टारलिङ्कसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ। यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ।”

यसअघि भारतका ठूला दूरसञ्चार कम्पनीहरू जियो प्लेटफर्म्स र भारती एयरटेलले पनि आफ्ना ग्राहकहरूका लागि स्टारलिङ्क इन्टरनेट उपलब्ध गराउने उद्देश्यले स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए।

स्टारलिङ्ककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल दृष्टिकोणलाई समर्थन गर्न पाउँदा आफू ‘अत्यन्त उत्साहित’ भएको बताउँदै भनिन्,“स्टारलिङ्कले अन्तिम स्वीकृति प्राप्त गरेपछि हामी भारतका सबैभन्दा दुर्गम क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई इन्टरनेटसँग जोड्नेछौँ।”

हाल विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको भारतमा प्रमुख प्रविधि कम्पनीहरू तीव्र रूपमा आफ्नो व्यवसाय विस्तार गर्नतिर लागिरहेका छन्। अघिल्लो महिनामा गुगलले आगामी पाँच वर्षभित्र १५ अर्ब डलर लगानी गरी भारतकै सबैभन्दा ठूलो एआई हब र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको थियो।

त्यस्तै, एन्थ्रोपिक र ओपनएआईले भारतमा कार्यालय खोल्ने तयारी गरिरहेका छन् भने पप्लेर्क्सिटीले भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग ठूलो रणनीतिक साझेदारीको घोषणा गरेको थियो।

भारतको डिजिटल रूपान्तरणमा स्टारलिङ्कको प्रवेशले ग्रामीण तथा दुर्गम क्षेत्रका लाखौँ नागरिकलाई इन्टरनेट पहुँच दिलाउने नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस