२०८२ कार्तिक २१ गते, शुक्रबार १८:३७

टिकटकले ल्यायो नयाँ सुरक्षा र उत्पादकता फिचर, क्रियटरका लागि ‘केयर मोड’ र ‘बल्क म्युट’ सुरु

काठमाडौं –

लोकप्रिय छोटो भिडियो प्लेटफर्म टिकटकले आफ्नो एपलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता–मैत्री बनाउनका लागि थप नयाँ फिचरहरू सार्वजनिक गरेको छ। कम्पनीले यसलाई क्रियटरहरूको सुरक्षा, उत्पादकता र मानसिक सहजता बढाउने पहलका रूपमा व्याख्या गरेको छ।

टिकटकले क्रियटरहरूका लागि उपलब्ध गराउँदै आएको Safety & Productivity Tools लाई विस्तार गर्दै ‘क्रियटर केयर मोड’ नामक नयाँ फिचर लन्च गरेको छ। यो मोड विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ।
एकपटक सक्रिय गरेपछि यसले क्रियटरले पहिले रिपोर्ट गरेको वा हटाएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरू स्वतः हाइड गर्छ।

कम्पनीका अनुसार, यसले क्रियटरलाई कन्टेन्ट बनाउँदा कमेन्ट मोडेरेट गर्न समय खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ। यो फिचर स्मार्ट टेक्नोलोजीद्वारा सञ्चालित छ, जसले प्रयोगकर्ताको व्यवहारका ढाँचा (प्याटर्न) सिक्दै सुरक्षित र सकारात्मक कम्युनिटी स्पेस निर्माण गर्छ।

त्यस्तै, निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारित ‘लाइभ म्युटिङ टूल’ पनि सार्वजनिक गरेको छ। अब लाइभ स्ट्रिम होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्नेछन्।
होस्ट वा मोडरेटरले कुनै शब्द वा इमोजीलाई म्युट टुलमा टाइप गरेपछि त्यस्ता कमेन्टहरू च्याटमा देखिँदैनन्, र सो शब्द प्रयोग गर्ने प्रयोगकर्तालाई होस्टले तोकेको अवधिभर स्वचालित रूपमा म्यूट गरिन्छ।

यो सुविधा आजदेखि विश्वभर उपलब्ध छ र लाइभका क्रममा बारम्बार कमेन्ट म्युट गर्ने क्रियटरका लागि ‘बल्क म्युट’ फिचर पनि सक्रिय हुनेछ। यसले लाइभ अन्तर्क्रियालाई अझ नियन्त्रणयोग्य र सम्मानजनक बनाउने कम्पनीको दाबी छ।

साथै, टिकटकले क्रियटरहरूका लागि ‘कन्टेन्ट चेक लाइट’ नामक अर्को टुल पनि सार्वजनिक गरेको छ, जुन टिकटक स्टुडियोको वेब भर्सनमा मात्र उपलब्ध छ। यसले क्रियटरलाई आफ्नो भिडियो पोस्ट गर्नु अघि नै ‘फर यू पेज’मा नदेखिने कारणहरू वा लिमिटेड रिचका समस्या जाँच्न र सुधार गर्न सहयोग गर्छ।

त्यस्तै, ‘क्रियटर इन्बक्स’ नामक नयाँ सुविधा पनि थपिएको छ, जसले प्रोफेसनल मेसेजिङ हबको रूपमा काम गर्छ। यसमा टेम्पलेटेड छिटो जवाफ, र अनरिड वा स्टार गरिएको मेसेजका लागि छुट्टै फोल्डर राखिएको छ, जसले फ्यानहरूसँगको संवादलाई अझ सहज बनाउँछ।

टिकटकले जारी गरेको विज्ञप्तिअनुसार, यी सबै फिचरहरूले क्रियटरहरूलाई सुरक्षित, आत्मविश्वासी र उत्पादनशील डिजिटल वातावरणमा कन्टेन्ट सिर्जना गर्न सशक्त बनाउनेछन्। कम्पनीले सबै प्रयोगकर्तालाई यी टुलहरूको प्रयोग गर्न र आफ्नो अनलाइन यात्रा अझ सकारात्मक र सुरक्षित बनाउन प्रोत्साहन गरेको छ।

पोडकास्ट सुन्नुहोस