२०८२ कार्तिक २१ गते, शुक्रबार १७:४४

मिसइनफर्मेशनलाई रोक्न अत्यन्त जरुरी छ : अर्थमन्त्री खनाल

वीरगन्ज-

नेपाल सरकारका अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले मिसइनफर्मेशन र डिसइनफर्मेशन (गलत तथा भ्रामक सूचना) लाई रोक्नु आजको पहिलो आवश्यकता भएको धारणा व्यक्त गर्नुभएको छ।

बढ्दो गलत तथा भ्रामक सूचनाका कारण विगतमा ठूला ठूला घटना भएका उदाहरण प्रस्तुत गर्दै उहाँले मिसइनफर्मेशन र डिसइनफर्मेशनलाई कठोरताका साथ नियन्त्रण गर्न सबैले पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

गलत सूचना प्रवाहकै कारण अघिल्ला आन्दोलनहरूमा सार्वजनिक मात्र नभई निजी सम्पत्तिसमेत नष्ट भएको उल्लेख गर्दै मन्त्री खनालले अब पनि यस्ता सूचनाहरूलाई रोक्न नसकिए यसको दीर्घकालीन प्रभाव अझ नकारात्मक हुने चेतावनी दिनुभयो।

वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकको दिगो विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको जानकारी दिनुभयो।

उहाँले मुलुकमा वैध व्यापार फस्टाउँदै जाओस् र अवैध व्यापारमा रोक लागोस् भन्ने सोचका साथ सरकारले आफ्ना काम–कारबाही अगाडि बढाइरहेको बताउनुभयो।

भन्सार कार्यालयमा हुने प्रक्रियागत झन्झटलाई कम गरी व्यापारीलाई मालसामान भित्र्याउन सहजता प्रदान गर्न सरकारले देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली (Online Valuation System) लागू गरेको जानकारी पनि उहाँले दिनुभयो।

विदेशबाट मालसामान आयात गर्दा मूल्यांकनमा समस्या भएको व्यापारीहरूको गुनासो सम्बोधन र व्यापार सहजीकरणका लागि अनलाइन मूल्यांकन प्रणाली सुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी उद्योगपति तथा व्यापारीहरूले आयात–निर्यातमा देखिएका विभिन्न कानूनी अडचनहरूका विषयमा अर्थमन्त्रीलाई अवगत गराएका थिए।

पोडकास्ट सुन्नुहोस