२०८२ कार्तिक २३ गते, आईतवार १८:३७

राजनीतिभन्दा बाहिर गएर मुलुकमा परिवर्तन आउँदैन् : विज्ञ सुवेदी

काठमाडौं-

विश्व स्वतन्त्रता दिवसका अवसरमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२ को आयोजना गरिएको छ ।गत निर्वाचनका (स्थानीय, प्रदेश र संघका) स्वतन्त्र उम्मेदवारहरू, नन–पोलिटिकल एलाइन्स तथा स्वतन्त्र नागरिकहरु, विभिन्न स्वतन्त्र नागरिक समूह÷समाजका सदस्यहरू र स्वतन्त्र जेनएक्स, जेनवाइ र जेनजीका सदस्यहरुको संयुक्त ‘स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२’ सम्पन्न भएको आइतबार सम्पन्न भएको हो ।

सोही क्रममा आर्थिक तथा विदेश विज्ञ अरुण कुमार सुवेदीले राजनीतिभन्दा बाहिर गएर राज्यका समस्याको समाधान खोज्नु मुर्खता भएको भन्दै परिवर्तनको लागि राम्रो राजनीतिज्ञ नै खोज्नुपर्ने बताए ।

उनले भने, ‘तपाई राज्यसँग सम्बन्धित विषयवस्तु उठान गर्नु हुन्छ भने सबै विषयवस्तु राजनीतिक हो । तपाई राजनीतिभन्दा बाहिर गएर राज्यका समस्याको समाधान खोज्नु मुर्खता हो । संसारमा सम्पूर्ण देशको युगान्तकारी परिवर्तन राजनीतिज्ञको नेतृत्वमा भएको छ, अरुको नेतृत्वमा होइन । परिवर्तनको लागि हामीले राम्रो राजनीतिज्ञ नै खोज्नु पर्छ ।’

यस्तै, उनले अहिलेसम्मको अर्थतन्त्र ०४८ देखि ०५१ सालसम्मको नीति निर्माताले धानेको भन्दै त्यति नभएको भए मुलुक अन्त्यको अवस्थामा पुगिसक्ने बताए ।उनले भने, ‘अहिलेसम्म जति अर्थतन्त्रमा देश बाँचेको छ, जति रोजगारी तपाइँहरुले पाउनु भएको छ, जति जीडीपी बढिरहेको छ । त्यो ०४८ देखि ५१ सालसम्मको नीति निर्माताले गर्दा भएको हो । त्यसकारण हामी बाँचिरहेका हौं । नत्र भने धेरै पहिला मुलुक अन्त्यको अवस्थामा पुगि सकेको थियो ।’

पहिलो तहमा आर्थिक नीति निर्माण जुन दिशातर्फ गएको थियो त्यो अनुसार अगाडि बढेर दोस्रो तहमा जानुपर्ने ठाँउमा ०६३ सालपछि पछाडितिर लागेको पनि उनको भनाइ छ ।

उनले भने, ‘दुइ सयजना सिमान्तकृतका बच्चाहरु आज निजी मेडिकल कलेजमा छात्रावृत्तिमा पढिरहेका छन् र आज मजदुरहरु पनि जहाज चढेर हिड्नसक्ने अवस्थामा छन् । यसको मतलब पहिलो तहमा आर्थिक नीति निर्माण जुन दिशातर्फ गएको थियो त्यो अनुसार अगाडि बढेर दोस्रो तहमा जानुपर्ने ठाँउमा ०६३ सालपछि पछाडीतिर गयौं । सबै भारी राज्यले बोक्नुपर्छ ।’

यस्तैगरि, कलाकार निसा अधिकारीले अहिलेको अवस्थामा राजनीतिक एजेण्डाभन्दा देशलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सबैजना मिलेर देशलाई स्थायित्वतर्फ लानुपर्ने धारणा व्यक्त गरिन् ।

उनले भनिन्, ‘अहिलेको अवस्थामा राजनीतिक एजेण्डाभन्दा देशलाई प्राथमिकतामा राखेर सबै जनाले सहमति जनाएर अगाडि बढ्ने र स्थायित्व कायम गर्ने काममा लाग्नुपर्छ ।’

साथै, जेनजी प्रतिनिधि ज्योतिका फुर्केलीले जेनजी शहीदहरुको रगतमा टेकेर बनेको अन्तरिम सरकारको काम जेनजीहरुको माग पूरा गर्ने भएता पनि त्यसतर्फ सरकार अग्रसर नभएको बताइन् ।

पोडकास्ट सुन्नुहोस