२०८२ कार्तिक २६ गते, बुधबार १८:३७

वीरगन्जमा महिलामाथि चक्कु प्रहार, एक घाइते – आक्रमणकारी नियन्त्रणमा

वीरगन्ज-
वीरगन्ज महानगरपालिका–१ चित्रगुप्त टोलमा बुधबार दिउँसो एक महिलामाथि चक्कु प्रहार गरी घाइते बनाइएको छ।
घाइते हुनेमा ४२ वर्षीया नुतन कुमारी कर्ण रहेको प्रहरीले जनाएको छ। उनी रौतहटको गौर नगरपालिका–५ की स्थायी बासिन्दा हुन् र हाल वीरगन्ज–१ चित्रगुप्त टोलमा डेरा लिएर बस्दै आएकी थिइन्।

घटनामा संलग्न २५ वर्षीया खुशी कुमारी बर्णवालले झगडाको क्रममा नुतनमाथि तरकारी काट्ने चक्कु प्रहार गरेकी प्रहरीको भनाइ छ।

प्रहरी निरीक्षक बिक्रम सुबेदीका अनुसार घाइते नुतनको नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

प्रहरीले आक्रमणमा संलग्न खुशीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्तामा हिरासतमा राखेको छ।
सुबेदीका अनुसार, बुधबार दिउँसो करिब २ बजे दुबैबीच झगडा भएको थियो, जसको क्रममा खुशी आवेशमा आएर नुतनमाथि आक्रमणमा उत्रिएकी थिइन्।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस