२०८२ कार्तिक २६ गते, बुधबार १८:४३

मुख्य सीमानाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खटाइए 

काठमाडौं-
सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धि गर्ने उद्देश्यले देशका प्रमुख सीमा नाकाहरूमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई खटाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार, खटाइएका एसएसपीहरूले आफ्नो तोकिएको एकाइमा बसेर दैनिक तथा साप्ताहिक रूपमा सम्पादन भएका कार्यहरूको प्रतिवेदन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पेस गर्नेछन्।

संगठनले प्रभावकारी कार्य देखिएमा सो जिम्मेवारीलाई निरन्तरता दिने र आवश्यक परे अन्य वरिष्ठ उपरीक्षकहरूलाई समेत सीमा नाकामा जिम्मेवारीसहित खटाउने योजना बनाएको छ। साथै, सीमा क्षेत्रमा देखिएका सूचना, गुनासा वा अवैध गतिविधिबारे सर्वसाधारणले प्रत्यक्ष सम्पर्क गर्न सक्ने प्रणाली पनि विकास गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रमुख जिम्मेवारी

उनीहरूले आफ्नो कार्यक्षेत्रमा रहँदै-

  • राजस्व चुहावट, चोरी–निकासी, पैठारीजस्ता गैरकानुनी कार्यहरूमा रोक लगाउने,

  • सो कार्यमा संलग्न व्यक्तिहरूलाई तात्कालिक कारबाहीको दायरामा ल्याउने,

  • लागुऔषध, हातहतियार ओसारपसार, फरार कैदी र आपराधिक गतिविधि नियन्त्रण,

  • साथै भन्सार, राजस्व अनुसन्धान, उद्योग–व्यापार संघ र स्थानीय निकायहरूसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका छन्।

सशस्त्र प्रहरी बलले विश्वास व्यक्त गरेको छ कि यस कदमले सीमाबाट वैध सामान आयातको प्रचलन बढाउने र भन्सार राजस्व अभिवृद्धिमा सहयोग पुर्‍याउनेछ।

खटाइएका एसएसपीहरूको विवरण

  • कोशी प्रदेश:

    • एसएसपी दिगविजय सुवेदी — प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, झापा र रानी, मोरङमा कार्यरत।

  • मधेश प्रदेश:

    • एसएसपी माधवप्रसाद पौडेल — सशस्त्र प्रहरी बल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज, पर्सामा कार्यरत।

  • लुम्बिनी प्रदेश:

    • एसएसपी रविनराज कर्णजीत — डण्डा, रूपन्देही; कृष्णनगर, कपिलवस्तु र जमुनाह, बाँकेमा निगरानीका लागि जिम्मेवारी।

  • सुदूरपश्चिम प्रदेश:

    • एसएसपी गङ्गाराम श्रेष्ठ — त्रिनगर, कैलाली र गड्डाचौकी, कञ्चनपुरमा खटाइएका छन्।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार, यी वरिष्ठ उपरीक्षकहरू बोर्डर आउट पोस्ट (BOP) मा नै बस्नेछन् र त्यहीँबाट अवैध गतिविधिको प्रत्यक्ष निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

पोडकास्ट सुन्नुहोस