२०८२ कार्तिक २६ गते, बुधबार १८:३६

बीरगन्जमा ‘पिस पोस्टर’ चित्रकला प्रतियोगिता सम्पन्न -विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन

बीरगन्ज-

बीरगन्ज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीमा आयोजित ‘पिस पोस्टर’ चित्रकला प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाएका छन्। यस वर्ष ११ देखि १३ वर्ष उमेर समूहका १५ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा कक्षा ६ की परी गुप्ताले आकर्षक र सन्देशमूलक चित्र प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी कक्षा ५ की आचल साहले दोस्रो स्थान, र मिराली जैसवालले तेस्रो स्थान प्राप्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि PMCC (पिएमसिसी) का डा. रमेशकुमार अग्रवालले विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँले विजेताहरूले अब इन्टरनेशनल पिस पोस्टर प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने जानकारी दिनुभयो। डा. अग्रवालका अनुसार अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट हुने विद्यार्थीहरूले आकर्षक धनराशिको पुरस्कार समेत प्राप्त गर्ने छन्।

कार्यक्रममा सम्बोधन गर्दै डा. अग्रवालले भन्नुभयो,“बालबालिकाले चित्रमार्फत आफ्ना भावना र समाजप्रतिको दृष्टिकोण अभिव्यक्त गर्न सक्छन्। यस्ता प्रतियोगिताले उनीहरूमा सिर्जनशीलता, कलात्मकता र विश्वशान्तिप्रतिको सोच विकास गर्छ।”

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक तथा लायन्स क्लब अफ बीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रथम भिडिजी एमएलएफ लायन रामबिहारी पाण्डे, एरिया चिफ पिएमजे एफ लायन रामेश्वर, डिष्टिक मार्केटिङ को–अर्डिनेटर लायन नरुतम पाण्डे लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजिकरण शिक्षिका नेहा अग्रवालले गर्नुभएको थियो। अन्त्यमा डा. अग्रवालले विजेता र सहभागी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै निरन्तर अध्ययन, सृजनात्मकता र शान्तिको सन्देश फैलाउने कार्यमा सक्रिय रहन प्रेरित गर्नुभयो।

नवदीप एकेडेमीका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता उजागर गर्दै विद्यालयको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अवसर प्राप्त गरेका छन्।

पोडकास्ट सुन्नुहोस