काठमाडौं-
वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् ।
औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा घटेर ५.०४०५ प्रतिशत पुगेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ ।
ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । उता ब्याजदर स्थिर राख्ने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।
बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन । यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।















