२०८२ कार्तिक ३० गते, आईतवार १७:५०

सर्लाहीमा पाँच हजार ६ सय १३ नयाँ मतदाता थपिए

सर्लाही-

सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबारसम्म निरन्तर चलेको छ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिव नारायण साहका अनुसार यो अवधिमा ५,६१३ जना नागरिकले आफ्नो नाम नामावलीमा दर्ता गराएका छन्। नयाँ दर्ता मतदातामध्ये ३,२८९ पुरुष र २,३२४ महिला रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली संकलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।

यता, राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर अनलाइनबाट नाम दर्ता गर्न मिल्ने सुविधा सुरु भएपछि कार्यालयमा भीड क्रमशः घट्न थालेको कार्यालयले जनाएको छ। जैविक तथ्याङ्क (बायोमेट्रिक) कै आधारमा अनलाइन दर्ता स्वीकृत हुने प्रणाली लागू गरिएको छ।

अनलाइनबाट पठाइएको फाराम जिल्ला निर्वाचन कार्यालयले एक दुई दिनमै ‘एप्रुभ’ गर्ने र सेवाग्राहीको मोबाइलमा म्यासेज आउने व्यवस्था मिलाइएको प्रमुख साहको भनाइ छ।

निर्वाचन घोषणा हुनु अघिसम्म सर्लाहीमा ४ लाख ९० हजार ४ मतदाता दर्ता थिए। दर्तामा बढ्दो सहभागिता देखिएको भन्दै निर्वाचन आयोगले म्याद थप गर्दै मंसिर ५ गतेसम्म कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

पोडकास्ट सुन्नुहोस