२०८२ कार्तिक ३० गते, आईतवार १७:४४

जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

विराटनगर-

आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन ।यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो।

अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ । तर त्रैमासिक समीक्षा जस्तै नीति–निर्णयका बैठकसमेत टेन्टमा बस्नुपर्ने अवस्था भने अपवादस्वरूप देखिएको छ ।

समीक्षामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए । महानगरका विभिन्न महाशाखा प्रमुखहरूले ३ महिनाको कार्यप्रगति क्रमशः प्रस्तुत गरे। भवन अभावका कारण सामान्यतया ‘प्रोजेक्टर–पोडियम’ व्यवस्थामा चल्ने प्रस्तुति यसपटक प्लास्टिक कुर्चीदेखि क्यानोपीको छायासम्म सीमित थियो।

यस अवधिमा महानगरले आन्तरिक स्रोतबाट करिब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ३५ नयाँ व्यवसाय दर्ता हुँदा उस्तै संख्यामा ३५ व्यवसाय खारेज भएका छन् । करिब ३ हजार ५५ व्यवसाय नविकरण भएका छन् । महाशाखा प्रमुखहरूको भनाइमा, ‘सेवा प्रवाह कठिन भए पनि राजस्व सञ्चालन स्थिर राखिएको’ छ ।

जेनजी आन्दोलनपछि वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरू क्षतिग्रस्त बनेका छन् । कतिपय वडामा कार्यलय पुनःस्थापना नभएकाले सेवाग्राहीहरू अस्थायी काउण्टरमा निर्भर रहनुपरेको छ । यही कारण महानगरले त्रैमासिक समीक्षा समेत टेन्टभित्र आयोजना गर्नुपरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताए।

पोडकास्ट सुन्नुहोस