वीरगन्ज-
नेपालमै पहिलो पटक आयोजना गरिएको समाचार वाचन प्रतियोगितामा वीरगन्जका सञ्चारकर्मी माधव तिमिलसिना विजयी भएका छन्। सामुदायिक रेडियो नारायणी एफएमको २०औँ वार्षिकोत्सवको अवसरमा आइतबार वीरगन्जमा आयोजित कार्यक्रममा तिमिलसिना प्रथम हुँदै नगद र प्रमाणपत्रसहित सम्मानित भएका हुन्।
तिमिलसिनालाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगद २० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगितामा द्वितीय स्थान लक्ष्मी खरेलले र तृतीय स्थान सूर्यनारायण विकले हासिल गरेको निर्णय मण्डलका सदस्य प्रतीमा चौधरी योङले जानकारी दिइन्। उनका अनुसार सान्त्वना पुरस्कार अर्जुन देवकोटा, सुरेश विडारी र विमला गुप्तालाई प्रदान गरिएको हो। द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतिस्पर्धीले क्रमशः १५ हजार, १० हजार, ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी, प्रतियोगितामा सहभागी वीरगन्ज कलेज, बीपीसी कलेज र ज्ञानदा एकेडेमीका तीन विद्यार्थीलाई १ हजार ५ सय रुपैयाँ तथा प्रमाणपत्रसहित प्रोत्साहन पुरस्कार दिइयो।
कार्यक्रम सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जार, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, उद्योगपति गणेलाठलगायतको उपस्थिति रहेको थियो।















