२०८२ मंसिर २८ गते, आईतवार १४:०६

मुख्यमन्त्री यादवको विश्वासको मत: मिति अन्योलमै, पुस २ गते लिने सम्भावना

वीरगन्ज-

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले विश्वासको मत लिने औपचारिक मिति अझै अन्योलमा रहेको छ। यसअघि सत्ता गठबन्धनको पहिलो बैठकले एजेण्डा तय गरे पनि नेकपा एमालेको महाधिवेशनपछि पुनः बैठक बसेर मिति तय गर्ने सहमति भएको थियो।

एमालेको महाधिवेशनलाई कारण देखाउँदै, शुक्रबारका लागि तय भएको गठबन्धनको बैठक मुख्यमन्त्रीको गृहप्रवेश कार्यक्रम र अन्य कारणले बस्न सकेन। जसपा नेपाल, मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादव ले एमाले महाधिवेशन सम्पन्न भएपछि मात्रै सत्ता गठबन्धनको बैठक बस्ने र त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तिथि मिति टुंगो लाग्ने जानकारी दिनुभयो।

यद्यपि, स्रोतले मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस २ गते विश्वासको मत लिने प्रबल सम्भावना रहेको दाबी गरेको छ। एक नेताका अनुसार, उक्त मितिसम्म एमाले महाधिवेशन पनि सम्पन्न भइसक्ने र त्यसपछि बस्ने गठबन्धनको बैठकबाट यो मिति निर्णय गरी विश्वासको मत लिने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री यादवले अबको केही दिनभित्रै विश्वासको मत लिने मिति घोषणा हुने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस