वीरगन्ज-
सार्वजनिक जग्गा संरक्षण अभियानमा सक्रिय देखिएको वीरगन्ज महानगरपालिकाले आइतबार बिहानैदेखि बीपी उद्यान क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ। वीरगन्जको मुख्य चोक घण्टाघर नजिकै रहेको बीपी उद्यान क्षेत्रमा रहेका अस्थायी संरचनाहरू हटाउन महानगरले बिहानैदेखि अभियान थालेको हो।
महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा घेराबीच उद्यान क्षेत्रमा रहेका टहरा तथा अस्थायी संरचनाहरू भत्काउने काम भइरहेको छ। सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापन र उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले डोजर प्रयोग गरी खाली गराउनु परेको महानगरपालिकाले जनाएको छ।
अतिक्रमण हटाउने क्रममा कुनै अवरोध वा अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। हालसम्म स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको र शान्तिपूर्ण ढंगले खाली गराउने कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ। महानगरले यो क्षेत्रलाई केवल खाली गराउने मात्र नभई, भविष्यमा सार्वजनिक प्रयोजनका लागि व्यवस्थित, सुरक्षित र आकर्षक स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। खाली गराइएको स्थानमा चरणबद्ध रूपमा संरचनागत सुधार र व्यवस्थापनका काम अघि बढाइने बताइएको छ।














