२०८२ मंसिर २८ गते, आईतवार १४:०१

विकासको काम गर्ने सरकार नै प्रदेश सरकार : इन्द्र बानियाँ

रामेछाप –

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।
नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।
गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालले विकासमा फड्को मारेको पनि उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपालको राजनीतिक परिवर्तनसँगै जनताको आर्थिक समृद्धिका लागि तीन तहका सरकार बनेको उनले बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सडक र पुल, कृषि र पशुपालनमा लगानीले ग्रामीण भेगको आर्थिक तथा सामाजिक जीवनमा ठुलो परिवर्तन ल्याउने बताए । उनले दुर्गम बस्तीलाई केन्द्रसँग जोड्ने पुल निर्माणले सेवा, सुविधा र बजार पहुँच सहज हुने विश्वास व्यक्त गरे ।
ढाँडेखोला सडक पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएको आवागमनको समस्या समाधान हुने अपेक्षा गरिएको छ । लामो समयदेखि पुल अभावमा जोखिम मोल्दै आएका स्थानीयवासीको लागि यसले सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछ ।
त्यसै गरी सुपारी खोल्चीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटनसँगै बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ बिचको दूरी छोटिनेछ । यस पुलले कृषि उपज ढुवानी, दैनिक आवतजावत, स्वास्थ्य तथा शैक्षिक सेवामा पहुँचलाई थप सहज बनाउने स्थानीयले बताएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारी, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले पुल निर्माण तथा शिलान्यास कार्यप्रति खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।

पोडकास्ट सुन्नुहोस