वीरगन्ज-
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा रहेको ऐतिहासिक एवं धार्मिक महत्त्वको श्री पारसनाथ महादेव मन्दिर (महुवन मठ) को अर्बौँ मूल्य पर्ने अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारी निकायले अहिलेसम्मकै कठोर कदम चालेका छन् । दशकौँदेखि राजनीतिक संरक्षण र कानुनी दाउपेचको ओत लागेर मठमाथि रजाईं गरिरहेकाहरूलाई हटाउन गुठी संस्थान र स्थानीय सरकारले संयुक्त रूपमा ‘वारपार’ को रणनीति अख्तियार गरेका हुन् ।
गुठी संस्थान शाखा कार्यालय वीरगन्जकी प्रमुख उर्मिला आचार्यले एक पत्र जारी गर्दै महुवन मठको कित्ता नम्बर २७६ मा रहेको ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा निर्मित सबै अनधिकृत घर र टहराहरू ७ दिनभित्र हटाउन अन्तिम आदेश दिएकी छिन् । लामो समयदेखि अतिक्रमणकारीको कब्जामा रहेको सो जग्गा खाली गराउन गुठीले यसपटक कुनै पनि दबाब र प्रभावमा नपर्ने सङ्केत दिएको छ ।
गुठीको पत्रलाई कार्यान्वयन गर्न सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आक्रामक शैलीमा सार्वजनिक सूचना जारी गरेका छन् । ७ दिनभित्र स्वतः संरचना नहटाए ‘बल प्रयोग’ गरेर भत्काइने उनले चेतावनी दिएका छन् । अध्यक्ष यादवले स्पष्ट शब्दमा भनेका छन्, “धार्मिक सम्पत्तिको रक्षा गर्नु हाम्रो प्रमुख दायित्व हो । यदि कसैले अटेर गरेमा सुरक्षा निकायको सहयोगमा डोजर चलाइनेछ र सो कार्यमा लाग्ने सम्पूर्ण खर्चसमेत अतिक्रमणकारीबाट नै असुल गरिनेछ ।”
विगतमा पटक–पटक महुवन मठको जग्गा खाली गराउने प्रयास भए पनि स्थानीय राजनीति र पहुँचवालाहरूको हस्तक्षेपका कारण ती प्रयासहरू विफल हुँदै आएका थिए । स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार राजनीतिक स्वार्थ र दाउपेचले गर्दा यसअघि मठको सम्पत्ति जोगाउन सकिएको थिएन । “अहिले गुठी संस्थान र गाउँपालिका दुवैले एकैसाथ कडा अडान लिएका छन्, यसले मठको सम्पत्ति जोगिनेमा हामी आशावादी छौँ,” उनले बताए ।
७ दिनको समयसीमाभित्र संरचना नहटेमा गाउँपालिकाले सुरक्षा निकायको सहयोगमा भौतिक कारबाही (डोजर अपरेसन) गर्ने अन्तिम तयारी गरेको छ । वर्षौँदेखि विवाद र अतिक्रमणको घेरामा रहेको यो मुद्दा अब ‘फास्ट ट्र्याक’ मा समाधान हुने देखिएपछि स्थानीय भक्तजन र नागरिक समाजमा उत्साह छाएको छ । धार्मिक सम्पदा संरक्षणको यो अभियानलाई स्थानीयले ऐतिहासिक कदमका रूपमा लिएका छन् ।















