वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया र स्थानीय एक युवतीबीचको कुटपिट तथा घर प्रवेश सम्बन्धी विवाद जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छ। वडाध्यक्ष चौरसियाले आफ्नो घरमा जबर्जस्ती प्रवेश गरी हातपात गरेको भन्दै पीडित युवती (परिवर्तित नाम ‘रासि चौरसिया’) न्याय माग्दै प्रहरीकहाँ पुगेकी हुन्।
सामाजिक सञ्जालमा वडाध्यक्षले युवतीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि चर्किएको यो विवाद सुल्झाउन जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। वडाध्यक्ष चौरसिया र रासि चौरसियाबीच प्रहरीकै रोहबरमा लामो समयसम्म छलफल भएको थियो।
मङ्गलबारको छलफलमा कुनै ठोस निष्कर्ष निस्कन नसकेपछि दुवै पक्षले थप कुराकानीका लागि बिहीबारसम्मको समय मागेका छन्। प्रहरी स्रोतका अनुसार दुवै पक्षको कुरा पछि तत्कालका लागि बिहीबार पुनः भेट्ने गरी उनीहरू बाहिरिएका छन्। वडाध्यक्षमाथि लागेको ‘घर प्रवेश’ (House Trespass) र ‘कुटपिट’ को आरोप गम्भीर प्रकृतिको भएकाले यसलाई कानुनी रूपमै अगाडि बढाउने वा आपसी सहमतिमा टुङ्ग्याउने भन्नेबारे बिहीबार मात्रै स्पष्ट हुने देखिएको छ।
गत आईतबार वडाध्यक्ष प्रदीप चौरसिया आफ्ना केही सहयोगीहरूसहित रासि चौरसियाको डेरामा पुगेर विवाद र हातपातमा उत्रिएका थिए। सोही घटनाको भिडियो भाइरल भएपछि जनप्रतिनिधिको मर्यादा र सुरक्षाका विषयमा चर्को आलोचना भइरहेको छ। पीडित पक्षले जनप्रतिनिधिले कानुन हातमा लिएर घरभित्रै पसी महिलामाथि हातपात गर्नु अपराध भएको दाबी गर्दै आएका छन्।
पर्सा प्रहरीले यस घटनालाई नजिकबाट नियालिरहेको र बिहीबारको छलफलपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजुकाकी बताएका छन् ।














