वीरगन्ज-
सप्तरी जिल्लामा हालै घटेका गम्भीर साम्प्रदायिक उत्तेजनात्मक तथा महिला अपमानसम्बन्धी आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल मुस्लिम समाज संघ, पर्साले राज्यलाई कडा चेतावनी दिएको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय वीरगन्जमा ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेको हो।
संघका पर्सा अध्यक्ष महबुब अली (उर्फ शेरु) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सप्तरीमा भएका घटनालाई सामान्य सामाजिक विवाद मात्र नभई संविधान, प्रचलित कानुन र सार्वजनिक शान्ति–सुरक्षामाथि गरिएको गम्भीर आपराधिक कार्यका रूपमा चित्रण गरिएको छ। सार्वजनिक स्थलमा मुस्लिम महिला तथा चेलीबेटीहरूलाई रोकेर जबर्जस्ती धार्मिक नारा लगाउन बाध्य पार्नु, डर–त्रास सिर्जना गर्नु र त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउनु व्यक्तिगत स्वतन्त्रता र लैङ्गिक सम्मानमाथिको नाङ्गो हस्तक्षेप भएको संघको ठहर छ।
ज्ञापनपत्रमा यस्ता गतिविधिहरू मुलुकी अपराध संहिता र विद्युतीय कारोबार ऐनअनुसार दण्डनीय रहेको उल्लेख गर्दै साम्प्रदायिक घृणा फैलाउने भिडियो र सामग्रीलाई राज्यको सार्वभौमिकतामाथिको चुनौती भनिएको छ। संघले कुनै पनि राजनीतिक, धार्मिक वा सामाजिक दबाबमा नपरी दोषीहरूको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न गृह मन्त्रालय र सुरक्षा निकायसँग जोडदार माग गरेको छ।














