काठमाडौं –
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशबाट देशमा सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन कायम गर्न सकिने बताए ।
उनले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेका छन् जसबाट सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन लिन सकिन्छ ।’
यस्तै, उनले वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको भन्दै यसलाई आधार बनाएर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको बताए ।
उनले भने, ‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेका छौं ।’















