वीरगन्ज-
नेपाल जनता पार्टी (नेजपा) ले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेको छ। पर्साको छिपहरमाई गाउँपालिकास्थित भिस्वाको श्री बौद्धिमाई मन्दिर प्राङ्गणमा आयोजित एक भव्य कार्यक्रमका बीच पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहालाई उम्मेदवार घोषणा गरिएको हो।
नेजपाले सुशासन, विकास र सांस्कृतिक पहिचानलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रने स्पष्ट पारेको छ। उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले हिन्दू राष्ट्रको पुनःस्थापना, सनातन धर्मको रक्षा, भ्रष्टाचार मुक्त समाज, र गौ हत्या तथा धर्म परिवर्तनमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका थिए।
यस्तै, गुरुकुल स्थापना, सांस्कृतिक राष्ट्रवाद, एकात्म मानव दर्शन, रोजगारी सृजनाका साथै स्वास्थ्य र शिक्षामा आमूल सुधार गर्ने एजेन्डा पार्टीले अघि सारेको छ।
उम्मेदवार घोषणा कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेल (सन्तोषानन्द महाराज), संगठन महामन्त्री इन्जिनियर राजीनन्द चौधरी, केन्द्रीय सदस्यहरू अधिवक्ता विनोद कुर्मी, सुरेश साह कानू र पारस दुबेदीको उपस्थिति रहेको थियो।
त्यसैगरी पर्सा जिल्ला उपाध्यक्ष उषा श्रीवास्तव, महामन्त्री नवीन मिश्रा, कोषाध्यक्ष राजेश कलवार, महिला मोर्चाकी जिल्ला अध्यक्ष संगीता गुप्ता, उपाध्यक्ष रेखा वर्णवाल र क्षेत्र नम्बर ४ का अध्यक्ष मुना कुमार कुर्मी लगायतका नेता-कार्यकर्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय अगुवाहरूले पनि पूर्व प्रहरी निरीक्षक कुशवाहाको उम्मेदवारीलाई समर्थन जनाएका थिए।















