२०८२ पुष २८ गते, सोमबार १९:०१

सरकारको मनोमानी कर आतंक, लुट, भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

वीरगन्ज-
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पछिल्लो समय जेनजी हत्यारा, भ्रष्टाचारीहरुसंग प्रधानमन्त्री सुशीला कार्कीको हिमचिम बढेको टिप्पणी गरेका छन् । जेनजी हत्यारा, भ्रष्टाचारीलाई कहिले कारबाही हुने प्रश्न समेत उनले सरकारसंग गरे ।

आजपाद्धारा आज (सोमबार) पर्सा क्षेत्र नं. ३ को पोखरियामा आयोजित क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुखनै हेर्दिन भन्ने प्रधामन्त्रीले अहिले घण्टौ बालुवाटारमा चियागफ गर्नेगरेको टिप्पणी गरे ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका हत्यारालाई कहिले कारबाही गर्ने सरकारसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले हत्याराहरुसंग चिया पार्टी गरेर शहिद परिवारले न्याय नपाउने बताए । जेनजी शहिद परिवार, आन्दोलनकारीहरुले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही कहिले गर्ने भन्ने प्रश्न दिनहुँ गरिरहेको भए पनि प्रधानमन्त्री उही हत्यारासंग घण्टौं भेटघाटमै ब्यस्त रहेको उनले बताए ।

जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै, जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबीच अस्वभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।

पछिल्लो समय नेपाली नागरिकक्ता नै त्याग्ने, जनताले पसिना बगाएर कमाएको पैसा ठग्ने, लुटने, र केही अनाडी तथा भ्रष्टहरुबाट मुलुकको संकट समाधान हुन नसक्ने उनले बताए ।

‘कोही ठग, कोही अनाडी छन । कसैले नेपाली नागरिकक्ता नै त्याग्ने त कोही भ्रष्ट र लुटेरा छन । कोही जेनजीका हत्याराहरु छन् । यस्ताबाट मुलुकको संकट समाधान हुनसक्दैन् । मुलुकको समस्या, संकट समाधान गर्न आजपा तयार रहेको छ । अहिलेको यो व्यवस्था, संविधान नै मुलुकको मुख्य समस्या भएकाले यसको खारेजीले मात्रै मुलुक सही दिशामा अगाडी बढन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।

देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्नका लागि आजपाले सुरुदेखि नै संघर्ष गरेकोले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको आजपा अध्यक्ष साहले बताए । खराब संविधान र खराब व्यवस्थाको कारण मुलुकको अवस्थापनि खराब भएको उनको टिप्पणी छ । उनले अहिलेको संविधानले देशलाई कुनैपनि हालतमा निकास नदिने ठोकुवा समेत गरे ।

यसैगरी सरकारपिच्छेको मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको बताए । तराई मधेसको सिमावर्ती क्षेत्रमा सरकारको छिनछोर कार्य र पुरस्कारको नाममा सरकारले सिमावर्ती क्षेत्रका नेपाली नागरिकलाई दुख दिइरहेको उनले बताए । भन्सारको नाममा भइरहेको यस्ता गतिविधि रोकिनुपर्ने सुझाव दिदै सरकारले मुलुकको अर्थतन्त्र जोगाउन नसकेको आरोप लगाए ।

सरकारपिच्छेको मनोमानी कर आतंक, भन्सारको नाममा भइरहेको लुट, भ्रष्टाचारको आजपाले विरोध गर्दै आएको बताउदै उनले यस्ता अनैतिक कार्य बन्द गर्नुपर्ने बताए । सरकारको मनोमानी कर आतंक, लुट, भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनले बताए ।

यस्तै, कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई साहले चेतावनी दिएका छन् । कुनै दलको आन्तरिक कलह, घरझगडा वा महाधिवेशनलाई लिएर निर्वाचन सार्ने षडयन्त्र भए नेपाली जनता प्रतिकारमा उत्रिने उनले बताए । तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनुपर्नेमा उनले जोड गरे ।

‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित पीडÞितलाई न्याय दिलाउन’ आयोजित उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धि महत्वपुर्ण निर्णयहरु समेत गरेको छ । आजपा नेता शिव साहको अध्यक्षतामा भएको कार्यक्रममा लघुवितबाट पीडितहरुको न्यायका लागि संघर्ष गर्दै आएका मणिराम ज्ञवाली लगायतको विशेष सहभागिता रहेको थियो ।

पोडकास्ट सुन्नुहोस