२०८२ माघ ९ गते, शुक्रबार १६:१२

आन्तरिक रणनीति तयारीमा व्यस्त पर्साका उम्मेदवारहरू

वीरगन्ज –

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट गत माघ ६ गते १ सय ९ जनाले उम्मेदवारी दर्ता गराए पनि जिल्लामा हालसम्म चुनावी प्रचार–प्रसारले खासै गति लिन सकेको छैन।

मनोनयन दर्ता भएको तीन दिन बितिसक्दा पनि राष्ट्रिय दलका तथा स्वतन्त्र उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्ने आन्तरिक रणनीति तयारीमै व्यस्त देखिएका छन्। केही उम्मेदवारहरूले मतदातासँग मत माग्दै घरदैलो अभियान सुरु गरे पनि अधिकांश उम्मेदवारहरू अहिले छलफल र प्रचार–प्रसारकै तयारीमा केन्द्रित छन्।

राष्ट्रिय दलका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू पार्टीको जिल्ला तथा वडा संगठनका पदाधिकारीहरूसँग छलफलमा व्यस्त देखिन्छन् भने स्वतन्त्र उम्मेदवारहरू आन्तरिक रणनीतिक छलफलमै सीमित रहेको बुझिएको छ।

जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा त्रिकोणीय चुनावी प्रतिस्पर्धा देखिएको छ। धेरैजसो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ भने केही क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा चौतर्फी (चौकोणीय) बनेको छ।

यसपटकको निर्वाचन मुद्दाभन्दा बढी नेताहरूको ‘अनुहार’मा केन्द्रित भएर लडिने संकेत राष्ट्रिय दलहरूबाट देखिएको छ। राष्ट्रिय दलहरूले यसपटक प्रधानमन्त्रीको उम्मेदवारको अनुहार अगाडि सार्दै चुनावी परिणाम निकाल्ने रणनीति अपनाएको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दै चुनाव जित्ने दाउमा लागेको छ भने नेपाली कांग्रेसले आज सानेपास्थित पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमार्फत पार्टी महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। त्यसैगरी, नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै आफ्नो मुख्य अनुहारका रूपमा प्रस्तुत गरेको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन अब ४१ दिन बाँकी रहेको अवस्थामा हाल अनुहारमै केन्द्रित देखिएको निर्वाचन आगामी दिनमा मुद्दामुखी बन्छ कि अनुहारकै आधारमा मत परिणाम तय हुन्छ — त्यो भने समयले नै देखाउनेछ।

पोडकास्ट सुन्नुहोस