२०८२ माघ १६ गते, शुक्रबार १५:३९

मदिराले बढाएको झगडा, चिर्पटले लिएको ज्यान

श्रीमतीको हत्या गरेपछि श्रीमान् आफैं प्रहरीमा आत्मसमर्पण

काठमाडौँ –

मदिरा सेवनपछि भएको पारिवारिक विवादले भयावह रूप लिँदा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घटना भएपछि उनले भाग्ने प्रयास नगरी प्रहरी कार्यालयमै पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् । हत्या पश्चात् उनी टिकाभैरव प्रहरी चौकी पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार शुक्रबार बिहान दुबै जनाले मदिरा सेवन गरेपछि विवाद चर्किएको थियो । सोही क्रममा विनोदले चिर्पट प्रहार गर्दा कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या पश्चात् कोपिलाको शव खाटमै सुताएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनापछि विनोद स्वयं प्रहरी चौकी पुगेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

पोडकास्ट सुन्नुहोस