वीरगन्ज-
मुलुकलाई नयाँ निकास दिने भन्दै ‘जेनजी’ (Gen Z) विद्रोहको आडमा हुने आगामी निर्वाचनलाई प्रभावित पार्न ठूलो आर्थिक चलखेल भइरहेको सनसनीपूर्ण रहस्य उजागर भएको छ। नयाँ आशाको केन्द्र भनिएका केही राजनीतिक शक्तिहरूले स्थापित दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस विरुद्ध भ्रमपूर्ण, मनगढन्ते र अफवाह फैलाउन पत्रकार तथा सञ्चार माध्यमहरूलाई मोटो रकम दिएर परिचालन गरेको पाइएको छ।
प्रति समाचार १० देखि २० हजारको अफर
‘गोप्यखबर’ लाई प्राप्त विशेष जानकारी अनुसार पर्सा लगायतका जिल्लाहरूमा सक्रिय केही सञ्चार माध्यम र पत्रकारहरूलाई ठूला दल विरुद्ध विषवमन गर्न खरिद गरिएको छ। एमाले र कांग्रेसका उम्मेदवारहरूको छवि धुमिल बनाउने गरी समाचार सम्प्रेषण गरेबापत प्रति समाचार १० हजार देखि २० हजार रुपैयाँ सम्म वितरण भइरहेको स्रोतले दाबी गरेको छ।
देशैभरि यस्ता ‘फेक न्युज’ उत्पादन गर्न र सामाजिक सञ्जालमा फैलाउन करोडौँ रकमको चलखेल भइरहेको छ। केही व्यक्तिहरूलाई त मिडिया हाउसहरू नै ‘खरिद-बिक्री’ गर्ने जिम्मेवारी दिएर जिल्ला-जिल्लामा खटाइएको रहस्य खुलेको छ।
‘गोप्यखबर’ लाई पनि आयो प्रलोभन: प्रमाण सुरक्षित
मिडियालाई हतियार बनाएर मतदाताको मनोविज्ञान बदल्न खोज्ने यो समूहले ‘गोप्यखबर’ लाई समेत प्रलोभन देखाएको छ। गत शुक्रबार यस अनलाइनका प्रतिनिधिलाई आएको एक फोन कलमा भनिएको थियो- “हामीले पठाएको समाचार तपाईँको पोर्टलबाट सम्प्रेषण गरिदिनुस्, प्रति समाचार कति लिनुहुन्छ? तर ती सबै समाचार एमाले र कांग्रेस विरुद्ध हुन्छ।”
पत्रकारिताको धर्म र निष्पक्षतामाथि प्रहार गर्ने यस्तो प्रस्तावलाई गोप्यखबरले ठाडै अस्वीकार गरेको छ। उक्त फोन संवादको आधिकारिक अडियो प्रमाण (कल रेकर्डिङ) सुरक्षित रहेको र आवश्यकता परेमा सम्बन्धित निकायलाई बुझाउन तयार रहेको यस अनलाइनले स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन
नयाँ शक्तिको खोल ओढेर मिडिया खरिद गर्ने यो प्रवृत्तिले स्वच्छ र निष्पक्ष निर्वाचनमाथि नै प्रश्नचिह्न खडा गरेको छ। मतदातालाई भ्रमित पार्न रचिएको यो ‘प्रोपागाण्डा’ संयन्त्रले लोकतन्त्रको खम्बा मानिने पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरिरहेको छ।













