वीरगन्ज-
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले आफू निर्वाचित भएको ६ महिनाभित्र क्षेत्रका जनतालाई विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस वीरगन्ज–३२ टेढाका बुथ सभापति हफिज रहमानको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।
उम्मेदवार रुङ्गटाले आफू र आफ्नो पार्टी विकास, समृद्धि र शान्तिको पक्षधर भएकाले निर्वाचित भएको ६ महिनाभित्र क्षेत्र नं. १ का जनताले विकासको अनुभूति गर्न थाल्ने बताउनुभयो। पछिल्लो १० वर्षदेखि पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुन नसक्दा अपेक्षित विकास हुन नसकेको र जनता पीडा खेप्न बाध्य भएको उल्लेख गर्दै उहाँले आफू निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा र पूर्वाधार विकाससँगै युवाहरूको विदेश पलायन रोक्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले आफू अन्य उम्मेदवारजस्तो झुटा नारा लगाउने, स्वार्थको राजनीति गर्ने वा पद र पैसाका लागि पार्टी परिवर्तन गर्दै हिँड्ने व्यक्ति नभएको बताउनुभयो। देश र जनताले गौरव गर्ने नेपाली कांग्रेस पार्टीको कर्मठ तथा इमानदार कार्यकर्ता भएकाले आफू कथनीभन्दा करनीमा विश्वास गर्ने व्यक्ति भएको उहाँको भनाइ थियो।
अहिले केही उम्मेदवारहरूले झुटा नारा लगाउँदै मतदाताको घर–आँगनमा पुगेर मधेसको मुद्दा र संविधान रक्षाबारे ठूला–ठूला कुरा गरिरहेको उल्लेख गर्दै उहाँले चुनावपछि पुनः स्वार्थ र जालझेलको राजनीतिमा केन्द्रित हुने विगतले देखाइसकेको दाबी गर्नुभयो। त्यसैले यस्ता बहुरूपिया उम्मेदवारबाट सावधान रहँदै आफ्नो सन्ततिको भविष्यका लागि काम गर्ने र गरेर देखाउने नेपाली कांग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो। जनताको शिर झुकाउने काम आफूले कहिल्यै नगर्ने, पद–प्रतिष्ठाको मोह नभई जनताको सेवकका रूपमा पाँच वर्ष काम गर्न चाहेको बताउँदै उहाँले नेपाली कांग्रेसको ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन अपिल गर्नुभयो।
कार्यक्रमपछि उम्मेदवार रुङ्गटाले टेढा निवासी मतदाताको घर–घरमा पुगेर नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। स्थानीय रामबालक महतो, इकबाल हुसेन, संजय मण्डल, रामप्रवेश, सुग्रीमलगायतका अगुवाइमा सम्पन्न घरदैलो अभियानमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जिल्ला सचिव तथा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, महाधिवेशन प्रतिनिधि दिनेश पन्त, किरण सरकारलगायत पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।













