२०८२ माघ २९ गते, बिहीबार १८:००

जसपाले गर्‍यो छपकैयामा घरदैलो ,अन्य पार्टीका उम्मेदवार एजेन्डाविहीन छन् : उम्मेदवार यादव

वीरगन्ज-

 पर्सा निर्वाचन क्षेत्र नं. १ का मतदातालाई आकर्षित गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी प्रचार–प्रसार तीव्र पारेको छ। जसपाका उम्मेदवार रामनरेश यादवले कहिले पार्टी प्रवेश कार्यक्रम आयोजना गरी विभिन्न पार्टी परित्याग गरेका युवाहरूलाई जसपामा प्रवेश गराइरहेका छन् भने हरेक दिन बिहान–बेलुका मतदाताको घरदैलोमै पुगेर ‘छाता’ चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्।

यसै क्रममा आज जसपा नेपालका उम्मेदवार रामनरेश यादवसहित पार्टीका नेता–कार्यकर्ताले वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। छपकैयाका मतदातालाई घर–आँगनमै भेट्दै उम्मेदवार यादवले मधेसी पहिचानलाई विश्वव्यापी बनाउने र मुलुकमा संघीयता स्थापना गर्न प्रमुख भूमिका खेलेको जसपालाई मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मधेसका बाँकी रहेका मुद्दा सम्बोधन गराउन जसपाका उम्मेदवार सदनमा पुग्न आवश्यक रहेको भन्दै आफूलाई भारी मतले विजयी बनाउन आम मतदातासँग अपिल गर्नुभयो।

घरदैलोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचनमा सहभागी अन्य दलहरू एजेन्डाविहीन अवस्थामा चुनाव लडिरहेको दाबी गर्नुभयो। उहाँले पर्साका चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका अन्य दलका उम्मेदवारसँग मधेस तथा जिल्लासम्बन्धी कुनै ठोस एजेन्डा नभएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा जसपाका महासचिव एवं मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाद कुर्मी, करिमा बेगम, रेखा साह, वलिराम यादव, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, रितेश गुप्तालगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस