वीरगन्ज-
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवकी श्रीमतीले खुलेआम ‘निर्वाचन आचारसंहिता २०८२’ को धज्जी उडाउँदै हिँडे पनि स्थानीय प्रशासनले मौनता अपनाएको छ।
सरकारी विद्यालयमा शिक्षिका रहेकी नगर प्रमुख सिंहकी श्रीमती अन्नपूर्णा देवी मानन्धर र पूर्वमन्त्री यादवकी श्रीमती पिंकी यादवले खुलमखुल्ला चुनाव प्रचार गरे पनि स्थानीय प्रशासनले कुनै प्रतिक्रिया जनाएको छैन।
वीरगन्ज महानगरपालिकाको वडा नं. ४ विर्तामा अवस्थित सुन्दरमल रामकुमार कन्या माविमा तृतीय श्रेणीकी स्थायी शिक्षिका रहेकी मानन्धर र महानगरपालिकाको वडा नं. २२ मनियारीमा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मनियारीकी राहत शिक्षिका पिंकी यादवले बुधबार वीरगन्जका विभिन्न स्थानमा चुनाव प्रचार गरे पनि उनलाई रोक्न स्थानीय प्रशासनले कुनै पहल गरेको छैन।
नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारलाई जिताउन पार्टीको झण्डा र पम्पलेट बाँड्दै हिँडेका तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए पनि न त उनीहरूलाई महानगरपालिकाले नै कुनै सोधखोज गरेको छ, न त स्थानीय प्रशासनले नै
वीरगन्ज महानगरपालिकाको वडा नं. ११ मा बिहीबार पिंकी यादव र अन्नपूर्णा देवी मानन्धरले चुनाव प्रचार गरेको सो वडाका पूर्व वडाध्यक्ष प्रद्युम्न सेढाईले जानकारी दिनुभयो। नेकपा एमालेका नेता समेत रहेका सेढाईले बिहान मेयर साब र पूर्वमन्त्रीज्यूकी श्रीमतीहरू चुनाव प्रचारमा सहभागी भएको र पार्टीको उम्मेदवारका लागि मत मागेको ‘गोप्य खबर’ सँगको फोन संवादमा बताउनुभयो।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ को दफा ७ मा सरकारी कर्मचारी, शिक्षक लगायतका राष्ट्रसेवकलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ।
पूर्वमन्त्री यादव र नगर प्रमुख सिंहकी श्रीमतीले आचारसंहिता उल्लंघन गरेको विषयमा महानगरपालिकाको शिक्षा महाशाखाका निमित्त प्रमुख आनन्द लामिछानेसँग बुझ्दा, उहाँले शिक्षिकाद्वय चुनाव प्रचारप्रसारमा सहभागी भएको विषयमा लिखित उजुरी आए त्यसमाथि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पठाउने जानकारी दिनुभयो। उहाँले शिक्षा महाशाखामा उजुरी आएमा आवश्यक कारबाहीका लागि प्रशासन कार्यालयमै पठाउने र यहाँबाट कारबाही गर्ने कुनै प्रावधान नभएको बताउनुभयो।
अन्यलाई नैतिकताको ज्ञान बाँड्दै हिँड्ने नगर प्रमुख र पूर्वमन्त्री यादवले थोरै ज्ञान आफ्नै श्रीमतीलाई दिए राम्रो हुने वीरगन्जबासीहरू बताउँछन्। चुनाव जित्न ठूला कुरा गर्ने उम्मेदवार र तिनका परिवारले नै ऐन कानुन मान्दैनन् भने उनीहरू चुनाव जितेपछि वीरगन्जको सुरक्षा व्यवस्था कस्तो हुने हो भन्ने कुरा वर्तमानको यस घटनाले प्रस्ट पारेको छ।













