२०८२ फाल्गुन २ गते, शनिबार ०३:००

रौतहटमा नक्कली नोटको डर लाग्दो जालो– पेट्रोल किन्न पुगेका दुई युवक पक्राउ

रौतहट-
रौतहटमा नक्कली नोटको प्रयोग बढ्दै गएको संकेत दिने घटनामा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। वृन्दावन नगरपालिका–९, विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्ने प्रयास गर्दा उनीहरू रंगेहात समातिएका हुन्।

पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–२ का २२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले पसलमा एक हजार दरको नक्कली नोट प्रयोग गर्न खोजेका थिए, जसले स्थानीय व्यापारीहरूमा त्रास र चिन्ता थपिएको छ।

नोट शंकास्पद देखिएपछि सतर्क बनेका पसलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले बिआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई जाँच गर्दा दिनेशको साथबाट १२ थान र विवेकप्रसादले मोबाइल कभरभित्र लुकाएको २ थान गरी जम्मा १४ थान नक्कली हजारदरका नोट बरामद भएको प्रहरीले जनाएको छ।

बरामद नोट र मोटरसाइकलसहित दुवैलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ। पछिल्लो समय नक्कली नोटको जोखिम बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारण र व्यवसायीलाई नोट लिँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

पोडकास्ट सुन्नुहोस