एजेन्सी-
बंगलादेशमा सम्पन्न आम निर्वाचनले देशको राजनीतिक दिशा नै बदल्ने संकेत दिएको छ। करिब दुई दशकदेखि सत्ताबाहिर रहेको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्ता पुनरागमनको ढोका खोलेको छ, जससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तथा पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ।
कुल ३०० मध्ये २९९ सिटमा मतदान भएको निर्वाचनमा प्रारम्भिक तथा अद्यावधिक परिणामअनुसार बीएनपीले दुई सयभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत सुरक्षित गरेको छ। रहमान स्वयं दुई निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। १७ वर्ष लामो निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका उनको उदयलाई बंगलादेशी राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको छ।
यता, जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले उल्लेखनीय सिट जित्दै संसदमा प्रभावशाली उपस्थितिको संकेत दिएको छ। गठबन्धनका प्रमुख शफीकुर रहमानले ढाका–१५ बाट विजय हासिल गरेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति सीमित देखिएको छ।
तर निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजनीतिक विवाद चर्किएको छ। भारतमा निर्वासन जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले निर्वाचनलाई “पूर्ण रूपमा फर्जी र असंवैधानिक” भन्दै अस्वीकार गरेकी छन्। आफ्नो दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर चुनाव गराइएको र अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरेको आरोप उनले लगाएकी छन्। हसिनाका अनुसार यस्तो निर्वाचनले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व गर्न सक्दैन।
जुलाई २०२४ को विद्यार्थी विद्रोहपछि भएको यो पहिलो राष्ट्रिय चुनावले एकातिर बीएनपीको शक्तिशाली पुनरागमन देखाएको छ भने अर्कातिर वैधानिकता र लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। परिणामसँगै बंगलादेश नयाँ राजनीतिक अध्यायतर्फ अघि बढेको भए पनि विवाद र ध्रुवीकरण अझ तीव्र हुने संकेत देखिएको छ।














